after_navbar

६१औँ रक्तसञ्चार सेवा दिवसः पूर्वाधार अभावले सेवा प्रभावित


२ घण्टा अगाडि


दाङ,१२ साउन। जिल्लामा रक्तसञ्चार सेवा निरन्तर सञ्चालन हुँदै आए पनि सेवालाई प्रभावकारी बनाउन चुनौती थपिँदै गएको छ । आवश्यक पूर्वाधार, उपकरण र स्रोतसाधनको अभावले सेवा प्रभावकारी बन्न नसकेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले बताएको छ । जिल्ला शाखाअन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले सेवा विस्तारको आवश्यकता औँल्याउँदै संरचना सुधारको माग समेत गरेको छ। मंगलबार ६१औँ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला शाखाले समस्या र चुनौतीको बारेमा जानकारी गराएको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले रगत अभावका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने सुनिश्चित गर्न राज्यका निकाय जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनीहरुले स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले रक्तसञ्चार सेवामा देखिएको समस्या समाधानका बारेमा स्थानीय सरकार गम्भीर रहेको बताए। उनले समन्वय र सहकार्यका माध्यमबाट समस्या समाधान गर्न स्थानीय सरकार तयार रहेको प्रतिवद्धता समेत ब्यक्त गरे। रगत अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्दै नियमित रक्तदानमा सहभागी हुन सबैमा आग्रह गरेका छन्।

रक्तसञ्चार सेवा केन्द्र दाङका इन्चार्ज दिलीप न्यौपानेका अनुसार पछिल्लो एक वर्षमा ६ हजार ८ सय ३७ युनिट रगत संकलन गरिएको छ। जसमध्ये २० प्रतिशत महिला र ८० प्रतिशत पुरुष रक्तदाता रहेका छन्। उनका अनुसार रक्तसञ्चार सेवा केन्द्रबाट नियमित सेवा प्रवाह भइरहेपनि कस्मिक अवस्थामा आवश्यक रगत तत्काल उपलब्ध गराउन समस्या भइरहेको बताए। विशेषगरी नियमित रक्तदाताको अभाव, व्यवस्थापनमा चुनौती तथा स्रोतको कमीका कारण मागअनुसार आपूर्ति गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए।

जिल्लाका मुख्य सेवा केन्द्रहरू घोराही र लमहीमा पर्याप्त भौतिक संरचना नहुँदा सेवा प्रवाह प्रभावित भएको उनको भनाई छ । यस्तै, भवन, भण्डारण कक्ष, रक्त परीक्षण तथा प्रशोधनका लागि आवश्यक स्थान अभावका कारण सेवा विस्तार हुन नसकेको र प्रयोगशालाका लागि आवश्यक आधुनिक उपकरण तथा सामग्रीको कमीले पनि सेवा गुणस्तरमा असर परेको उनले जानकारी गराए।

जिल्लामा एउटामात्र कम्पोनेन्ट सेपरेसन मेसिन भएको र मेसिन बिग्रिएमा रगतलाई आवश्यक घटकमा विभाजन गर्ने प्रक्रिया पूर्ण रूपमा अवरुद्ध हुने अवस्था रहेको उनको भनाई छ । वैकल्पिक उपकरणको अभावले आकस्मिक अवस्थामा सेवा नै ठप्प हुने जोखिम देखिएको भन्दै सेवा प्रवाह चुनौतीपूर्ण रहेको उनले बताए।

सञ्जीवनी टिचिङ अस्पतालका डा वाचस्पति सुवेदीले रगतको आवश्यकता, रक्तदानको वैज्ञानिक महत्त्व र नियमित रक्तदानले समाजमा पुर्‍याउने सकारात्मक प्रभावबारे प्रस्तुतीकरण दिएका थिए ।उनले रक्तदान जीवनदान भएको र यसले एकैपटक धेरै मानिसको जीवन बचाउन सक्छ भन्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न आग्रह गरे।

कार्यक्रममा सहभागीहरुले सुरक्षित र पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्न नियमित रक्तदान अभियान, जनचेतना अभिवृद्धि, पूर्वाधार विस्तार तथा उपकरण व्यवस्थापनमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए। रक्तसञ्चार सेवा सुदृढीकरणका लागि दीर्घकालीन योजना, पर्याप्त बजेट व्यवस्था, प्राविधिक जनशक्ति विस्तार तथा आधुनिक उपकरणको सुनिश्चितता अनिवार्य रहेको उनीहरुको भनाई थियो।

सो अवसरमा सामाजिक सेवामा योगदान पुर्‍याएको भन्दै विभिन्न संस्थामा आवद्ध व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । पत्रकारहरु दिपक बोहोरा, उमा भण्डारी,झग्गु भण्डारीलाई सम्मान गरिएको थियो । यस्तै रक्तदान कार्यक्रमका अभियान्ता बसन्त गिरी, ट्राफिक प्रहरी तिर्थराज भूसाल, व्यवसायी पदम पोख्रेल, चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारीलाई सम्मान गरिएको थियो। ज्ञानज्योति फाउन्डेसन तुलसीपुर, नेपाल मानव धर्म सेवा समिति लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा हिमाल एकेडेमी तुलसीपुरका शिक्षक शालिकराम वली, १९ नं। बाहिनीका प्रमुख सेनानी रामज्योति बोहरा, मावि अस्वाराका शिक्षक मधुसूदन गौतम, ज्ञानज्योती फाउण्डेशन र हिमाल एकेडेमीका विद्यार्थीहरु लगायतले रक्तदान गरेका थिए। जिल्ला शाखा सभापति मदन गौतमको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण संस्थाका मन्त्री प्रकाश श्रीबन्दले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="