दाङ। मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको हो। गण्डकी र लुम्बिनी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
उत्तर अण्डमान सागरमा बनेको न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भागमा पुगेको र थप शक्तिशाली बन्दै गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुँदै पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाइएको छ।
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस