after_navbar

सरकारले यसवर्ष दशैँमा खसीच्याङ्ग्रा नबेच्ने


२ घण्टा अगाडि


काठमाडौ। दसैँको समयमा बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षमा सहुलियत दरमा खसी-बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने बिक्री नगर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावका कारण यस वर्ष दसैँमा सहुलियत दरमा खसी-बोका तथा च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो।

बजारमा खसी-बोका तथा च्याङ्ग्राको मूल्य बढ्न नदिन कम्पनीले हरेक वर्ष दसैँको समयमा उपत्यकामा सहुलियत दरमा चौपाया बिक्री गर्दै आएको थियो। तर, यस वर्ष खसी-बोका खरिदका लागि बजेट नै विनियोजन नभएकाले सहुलियत दरमा चौपाया बिक्री गर्न नसकिने कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए।

कम्पनीले २०८१ सालको दसैँमा १ हजार ५ सय खसी–बोका र ३ सय च्याङ्ग्रा उपत्यकामा ल्याएर सहुलियत मूल्यमा बिक्री गरेको थियो। त्यसबेला जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २३० रुपैयाँ निर्धारण गरिएको थियो। उपभोक्तालाई उक्त मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुटसमेत दिइएको थियो।

गत वर्ष कम्पनीले च्याङ्ग्रा बिक्रीका लागि अनलाइन बुकिङसमेत खुला गरेको थियो। तर, पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि खसी-च्याङ्ग्रा उपत्यकामा ल्याउन नसक्दा बुकिङ रद्द गर्नुपरेको थियो।

चौपाया खरिद-बिक्री केन्द्रका अनुसार यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा मात्रै ३५ हजारदेखि ४० हजारसम्म खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान गरिएको छ।

सरकारी कम्पनीले सहुलियत दरमा चौपाया बिक्री नगर्ने भएपछि दसैँको समयमा निजी क्षेत्रबाट हुने आपूर्तिले नै उपत्यकाको माग धान्नुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="