after_navbar

सडक ठेक्का प्रकरणमा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२ घण्टा अगाडि


काठमाडौ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध ७३ लाख ६१ हजार ९५३ रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिका-६ स्थित हरियापानी, पालङ्ग, माझफाल हुँदै रुकुमसम्म सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत कार्य गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार ठेक्का प्रक्रियामा कम रकम कबोल गर्ने बोलपत्रदातालाई अनुत्तीर्ण गराई बढी रकम कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरी ठेक्का प्रदान गरिएको थियो। यसरी नगरपालिकालाई आर्थिक क्षति पुर्‍याएको आरोप उनीहरूमाथि लगाइएको छ।

मुद्दा दायर हुनेमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा र एमआईएस अपरेटर शरिचन्द्र विष्ट रहेका छन्।

त्यसैगरी, सडक निर्माणको खरिद प्रक्रियाको मूल्याङ्कनमा संलग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरुङ, छल निर्माण सेवा प्रालि, दुनै, डोल्पा तथा उक्त निर्माण सेवाका प्रोप्राइटर दिपचन्द्र रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ७३ लाख ६१ हजार ९५३ रुपैयाँ बिगो कायम गरी सोहीअनुसार सजायको मागदाबी गरेको छ। उनीहरूविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="