दाङ। प्रदेश पाँच सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्तावमा आज मंगलबार मतदान हुने भएको छ।
संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशसभाको दुई तिहाइबाट प्रदेशको नाम र राजधानी तोक्ने प्रावधानअनुसार मतदान हुँदैछ। जसका लागि आज १२ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।
प्रदेशसभामा सोमबार प्रस्तावमाथिको छलफल सकिएपछि आज मतदान हुन थालेको हो। छलफल सकिएको १८ घण्टासम्म संशोधन प्रस्ताव दर्ता गर्ने समय दिइएको छ। यद्यपि कार्यविधिअनुसार मूल प्रस्तावमा नै पहिले मतदान हुनेछ।
प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी राख्ने प्रदेश सरकारले पेश गरेको मूल प्रस्ताव दुई तिहाइले पारित भएको खण्डमा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछैन। मूल प्रस्तावमा दुई तिहाइ नपुगेको खण्डमा मात्रै संशोधन प्रस्तावमा मतदान हुनेछ।
सोमबारसम्मको स्थिति हेर्दा सरकारले पेश गरेको प्रस्ताव सहजै पारित हुने देखिएको छ। प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेकपाले सबै सांसदहरुलाई ह्वीप जारी गरेको छ। मुख्यमन्त्री एवं संसदीय दलका नेता शंकर पोख्रेलले सोमबार बसेको संसदीय दलको बैठकमा निर्देशन उल्लंघन गरे पदमुक्त गर्ने गरी पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ। प्रदेशसभामा नेकपामा ६१ सांसद छन् भने सभामुखले एक मत नपुगेको अवस्थामा बाहेक मतदान गर्न पाउनुहुनेछैन।
सोमबार भएको छलफलमा सांसदहरुले मिश्रित धारणा राखेका थिए। उनीहरुले भेगीयरुपमा आ–आफ्ना मत राखेका थिए। बैठक शुरु हुनेबित्तिकै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बोलेपछि रुपन्देही आसपासका कांग्रेस सांसदहरु नाराबाजीमा उत्रिएका थिए। उनीहरुले लगातार नाराबाजी गरेपछि पहिलो बैठक स्थगित गरिएको थियो। दोस्रो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका थिए।
प्रतिक्रिया दिनुहोस