सङ्खुवासभा । चैनपुर नगरपालिका ४ मैदानेमा नेत्रविक्रम चन्द (विप्लव) समूहले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बरामद गरेको विस्फोटक पदार्थहरु प्रेस सम्मेलन गरेर सार्वजनिक गरिएको हो । विप्लव समूहले लुकाएर राखेको सैन्य प्रशिक्षणका दस्तावेज, लत्ताकपडा, टेन्ट दुई थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम चार थान, हतियार तथा कम्ब्याटसहितको जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईको फोटो ६ वटा र पाँच वटा मोबाइलसहित ११ वटा सिम प्रहरीले सार्वजनिक गरेको हो ।
सोमबार दिउँसो सवा ३ बजेतिर प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको थियो । सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले प्रहरी र सशस्त्र बलको गस्ती टोलीमाथि फायरिङ गरेपछि जवाफी फायरिङ गर्नुपरेको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस