दाङ, १० माघ ।
भोलि राष्ट्रियसभा निर्वाचन हुँदै छ । १९ सदस्यका लागि सातै प्रदेशमा माघ ११ गते (भोलि) हुने निर्वाचनको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने २ सदस्यका लागि हुने निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखहरु २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी तोक्ने काम, सुरक्षा व्यवस्थापनको काम सकिएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतपत्र, मतदाता नामावली, ब्यालेट बक्स लगायतका सामग्रीको व्यवस्थापन भइसकेको उनले बताए । दुई वटा मतदान केन्द्रमा दश/दश जना कर्मचारी खटिनेछन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कर्मचारी सहयोगी रहने छ ।
निर्वाचन सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले सुरक्षाकर्मी परिचालन गर्ने गरी व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको ब्यबस्था गरिएको छ ।
मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । लुम्बिनी प्रदेशमा २ सिटका लागि ६ जना उम्मेदवार छन् । अन्य र महिला क्लस्टरका दुई सिटका लागि निर्वाचन हुने छ ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला क्लस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ । राप्रपाले महिला क्लस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस