काठमाडौं, २६ भदौ । बागलुङको तमानखोला गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।
बुधबार राति तमानखोला गाउँपालिका–६ नर्जाखानीमा परेको चट्याङका कारण ७१ वर्षीया मनकली बिकको मृत्यु भएको वडाध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिए। चट्याङ लाग्दा छन्त्याल आफैं पनि घाइते बनेका छन्। उनका अनुसार अन्य ३५ जना स्थानीय घाइते भएका छन्। उनीहरूको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार भइरहेको छ।
वडाध्यक्ष छन्त्यालले चट्याङका कारण गाउँका करिब ६० घरमा क्षति पुगेको र बरागोस तथा पाल्ले खानीखोला लघु जलविद्युत् आयोजना पूर्ण रूपमा नष्ट भएकाले अहिले सो क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको बताए।
यस्तै, जैमिनी नगरपालिका–८ छिस्ती अर्खलाबोटस्थित बलबहादुर नेपालीको घरमा चट्याङ पर्दा थप तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस