काठमाडौ,३ कार्तिक । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने राजनीतिक समूहहरूको संख्या १७ पुगेको छ। आयोगका अनुसार सबै १७ दल दर्ताको प्रक्रियामा रहेका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अघि १० वटा दलले दर्ताका लागि निवेदन दिएका थिए भने आन्दोलनपछि थप सात दलले निवेदन दिएका हुन्। उनका अनुसार ती सबै निवेदनहरू हाल आयोगको अध्ययनको क्रममा छन्।
हालसम्म आयोगमा दर्ता भएका दलहरूको संख्या १२४ पुगेको छ। यदि निवेदन दिएका सबै दल दर्ता भए, दलको संख्या अझ बढ्नेछ।
यसबीच दुई पार्टी फुटेर नयाँ दल बनेका छन् — जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ भने नेपाल जनमुक्ति पार्टी फुटेर अर्को नयाँ दल दर्ता भएको आयोगले जनाएको छ।
आयोगका अनुसार केही दलको विधान स्पष्ट हुनुपर्ने, केहीको सनाखतका लागि आवश्यक सदस्य संख्या नपुगेको, र केहीको चुनाव चिन्ह सम्बन्धी समस्या रहेको कारण अध्ययन र संशोधन प्रक्रिया चलिरहेको छ।
आयोगले एक दललाई चुनाव चिन्ह परिवर्तन गर्न समेत सुझाव दिएको छ। ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ ले प्रस्ताव गरेको ‘क्रस खुकुरी’ चिन्ह फेर्न आयोगले आग्रह गरेको हो।
यस्तै, राष्ट्रिय परिवर्तन पार्टी पनि दर्ता प्रक्रियामा रहेको छ। सो पार्टीका अध्यक्ष अजयकुमार हुन् र चुनाव चिन्ह ‘बाँसुरी’ प्रस्ताव गरिएको छ।
त्यस्तै, नेपाल लिबरल पार्टी नामक दल पनि दर्ता प्रक्रियामा छ, जसका अध्यक्ष गोपीलाल न्यौपाने हुन् र यसको चुनाव चिन्ह ‘सिक्का’ प्रस्ताव गरिएको छ।
यसअघि नै नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, र गतिशील लोकतान्त्रिक पार्टी ले पनि दल दर्ताका लागि निवेदन दिएका थिए।
श्रम संस्कृति पार्टीका अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् भने गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईं हुन्।
निर्वाचन आयोगले सबै नयाँ दलको विवरण अध्ययन गर्ने कार्य जारी रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस