काठमाडौ,१४ कार्तिक । सरकारले यसअघिको ६ बुँदे भिजिट भिसा मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको छ। अध्यागमन विभागका अनुसार नयाँ मापदण्ड संविधानले दिएको नागरिकको मौलिक हक र स्वतन्त्र आवतजावतको अधिकार सुनिश्चित गर्दै स्वार्थ समूहको चलखेल रोक्न र गलत क्रियाकलाप नियन्त्रण गर्न लागू गरिएको हो।
छ बुँदे मापदण्ड पुनरावलोकनका लागि सिफारिस गरिए अनुसार २०८० माघ १० देखि लागू भएका सबै पुराना प्रावधानहरू खारेज गरिएको विभागले जनाएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार बिहीबारदेखि चार बुँदे नयाँ प्रावधान लागू भएको छ। नयाँ प्रावधानअनुसार यात्रुको राहदानी कम्तीमा ६ महिना वैध हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा ‘अन अराइभल भिसा’ पाउने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ।
त्यसैगरी, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाइ टिकट, भ्रमणको प्रयोजनका लागि आवश्यक कागजातहरू साथमा हुनुपर्ने र यात्राले त्यसबाट सिर्जित परिणामको जिम्मेवारी स्वयं लिनुपर्ने व्यवस्था गरिएको छ।
अध्यागमन विभागले भिजिट भिसा प्रक्रियामा कुनै पनि बिचौलियाको प्रभावमा नपर्न यात्रुहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस