after_navbar

मुसहर बस्तीमा झाडापखालाको प्रकोप :बस्ती ‘सिल’


कार्तिक १८, २०८२


सप्तरी, १७ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान गएको छ। थप संक्रमण फैलिन नदिन सोमबारदेखि सो बस्तीलाई ‘सिल’ गरी उपचार कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार बस्तीका मानिसलाई बाहिर जान रोक लगाइएको छ र आवश्यक वस्तु त्यहीँमै उपलब्ध गराइने व्यवस्था गरिएको छ। उनले भने, “आइतबारदेखि स्वास्थ्यकर्मीको टोलीले स्थलगत उपचार सुरु गरिसकेको छ, अहिले अवस्था नियन्त्रणमा आइसकेको छ, आत्तिनुपर्ने स्थिति छैन।”

दिसा नमुना परीक्षणका क्रममा नौ जनामध्ये तीन जनामा हैजा (कोलेरा) पोजेटिभ देखिएको छ। ती नमुना प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको छ। पोजेटिभ देखिएका व्यक्तिहरूमा स्थानीय सुरज सदाका तीन वर्षीय छोरा मनीष, शिवकुमार सदाका सात वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया श्रीमती रेखादेवी सदा रहेका छन्।

तीनै जनाको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ र उनीहरूको स्वास्थ्य सुधारोन्मुख रहेको अध्यक्ष चौधरीले बताए। गाउँपालिकाले विपद् व्यवस्थापन समितिको निर्णयअनुसार २४ घण्टा उपचारका लागि चार जना स्वास्थ्यकर्मी खटाएको छ।

हैजा फैलिएको वडाका विद्यालयहरू तीन दिनका लागि बन्द गरिएका छन्। दूषित पानीको स्रोत बन्द गरी प्रशोधित पानी वितरण थालिएको छ।

झाडापखालाबाट ज्यान गुमाएका बुचन सदाको परिवारलाई राहत सामग्री र किरिया खर्चका लागि सहयोग गरिएको अध्यक्ष चौधरीले जानकारी दिए। कात्तिक ६ गते उनका एक वर्षीय छोरा सञ्जीव, ११ गते ६८ वर्षीय बुवा लक्ष्मण र १४ गते चार वर्षीया छोरी राघिनीको मृत्यु भएको थियो।

सदाय समुदाय ऐलानी जमिनमा बसोबास गर्दै आएको र अधिकांशको जीविकोपार्जन मजदुरीमा निर्भर रहेको छ। सरसफाइको कमी नै रोग फैलिनुको मुख्य कारण भएको अध्यक्ष चौधरीको भनाइ छ। उनले भने, “हामीले साबुन, स्यानिटाइजर र नेल कटर वितरण गरेर प्रयोग गर्न सिकाएका हौं, तर उनीहरूले सरसफाइलाई प्राथमिकता नदिँदा समस्या दोहोरिने गरेको छ।”

प्रतिक्रिया दिनुहोस

data-href="