दाङ, ४ चैत । प्रहरीले दाङको घोराहीबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। घोराही–१४ स्थित एक गेष्ट हाउसबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका–२ नुवागाउँका २४ वर्षीय धोजबहादुर घर्ती, सोही स्थानका ३१ वर्षीय हिरामणि घर्ती, माडी गाउँपालिका, दाङ–७ मिसीडाँडाका २६ वर्षीय ईश्वर बुढामगर र घोराही–१४ नवजलजलाका २६ वर्षीय विनय डाँगी रहेका छन्।
गत फागुन २३ गते गरिएको खानतलासीका क्रममा उनीहरूको साथबाट ६० ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
त्यसैगरी उनीहरूको साथबाट नगद ३५ हजार ८३५ रुपैयाँसमेत बरामद भएको सूचना अधिकारी रमेश बोहराले जानकारी दिए।
पक्राउ परेकाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस