दाङ,१८वैशाख । दाङका सुकुम्बासीहरू आन्दोलित बनेका छन्। सरकारले उचित विकल्प र व्यवस्थापन बिना सुकुम्बासी बस्ती हटाउन थालिएको भन्दै सुकम्बासीहरु आन्दोलित बनेका हुन् ।
सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा डोजर चलाएर बस्ती हटाउन थालेपछि त्यसको प्रभाव दाङसम्म परेको हो। घोराही र तुलसीपुरका सुकुम्बासी संगठनहरूले बैठक गर्दै सरकारको कदमको कडा विरोध गरेका छन्।
आन्दोलनका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने निर्णयसमेत गरेका छन्। प्रदर्शनकारीहरूले “बालेन सरकार मुर्दावाद”, “विकासका नाममा विस्थापन बन्द गर”, “गरिबी हटाउ गरिब होइन” जस्ता नारा लगाउँदै घोराही र तुलसीपुरमा प्रदर्शन गरेका छन्।
हामी भूमिहीन अव्यवस्थित सुकुम्बासी अभियानका संयोजक हरिश गिरीले आफूहरूलाई ‘हुकुमवासी’को आरोप लगाइएकोमा आपत्ति जनाउँदै ३३ वर्षदेखि ऐलानी जग्गामा बस्दै आएको बताए। डोजर चलाइए घरबारविहीन हुने उनको भनाइ छ।
त्यस्तै, सुकुम्बासी लिला विकले चुनावका बेला सुकुम्बासी बस्तीमा डोजर नचल्ने आश्वासन दिइए पनि अहिले उल्टै विस्थापन सुरु गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
दाङमा सुकुम्बासी र राजनीतिक दलका कार्यकर्ताबीच तनाव बढ्न सक्ने देखिएपछि प्रशासनले अवस्था निगरानीमा राखेको छ। सुकुम्बासीहरूले ‘विकल्पबिनाको विस्थापन स्वीकार्य छैन’ भन्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस