दाङ,१९ वैशाख । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्रै ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालयको कम्पाउण्डमा भवन निर्माणका लागि जग खन्ने क्रममा पहिलोपटक बुधबार दिउँसो शङ्कास्पद वस्तु देखिएको थियो। त्यसपछि उत्खनन कार्यलाई निरन्तरता दिँदा शनिबार बिहानसम्म जम्मा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीमध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन्। यससँगै घटनास्थलबाट करिब ५०० ग्राम विस्फोटक पदार्थ, करिब २ केजी बम निर्माणमा प्रयोग हुने सामग्री, ७ थान रेडियो वेभ उपकरण र १० मिटर फायरिङ केबलसमेत बरामद भएको छ।
घटनापछि तत्कालै नेपाली सेनासँग समन्वय गरी प्रहरीको टोली परिचालन गरिएको थियो। पछि सेनाको बम डिस्पोजल तथा इन्जिनियर टोलीसमेत घटनास्थलमा खटाइएको छ। अहिले संयुक्त रूपमा सबै विस्फोटक सामग्री सुरक्षित रूपमा निष्क्रिय पार्ने काम भइरहेको छ।
प्रहरीका अनुसार बम फेला परेको क्षेत्र लामो समयदेखि प्रयोगमा रहे पनि जमिनमुनि लुकाइएका यस्ता सामग्रीबारे जानकारी थिएन। प्रारम्भिक अनुमानमा यी विस्फोटक सामग्री सशस्त्र द्वन्द्वकालमा लुकाइएका हुन सक्ने देखिएको छ।
प्रहरी कार्यालय परिसरमै यति ठूलो परिमाणमा बम फेला पर्नुले सुरक्षा व्यवस्थापन र पुराना द्वन्द्वकालीन सामग्रीको जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अहिले उक्त क्षेत्रमा थप उत्खनन तथा निगरानी बढाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस