after_navbar

जेनजी आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गर्न माग


बैशाख २८, २०८३


काठमाडौ,२८ वैशाख। जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

हरिहर भवन परिसरमा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित विरोध जनाएका थिए । उनीहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन लामो समयसम्म सार्वजनिक नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रदर्शनकारीहरूले सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । उनीहरूले मानव अधिकारको संरक्षण गर्ने निकायबाट नै ढिलाइ हुनु दुःखद भएको बताएका छन् ।

धर्नाका क्रममा केही समय तनावसमेत सिर्जना भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि, कार्यक्रम समग्रमा शान्तिपूर्ण रहेको आयोजकले बताएका छन् ।आन्दोलनकारीहरूले प्रतिवेदन सार्वजनिक नभएसम्म आफ्नो दबाब जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="