काठमाडौ,३१ वैशाख। काठमाडौको कीर्तिपुरमा एक युवकको हत्या प्रकरणमा फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले हत्या आरोपित सुजन शाहीलाई पक्राउ गर्ने क्रममा घुँडामुनि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीको नियन्त्रणबाट भाग्न खोजेपछि गोली चलाइएको थियो। गोलि प्रहारबाट घाइते शाहीलाई उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार २३ वैशाख दिउँसो पोडेटोलमा गुल्मी धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्दै आएका २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा यसअघि प्रहरीले महेन्द्र शाह, रवीन्द्र धामी र रोशन बिष्टलाई पक्राउ गरिसकेको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार हत्या गर्ने र मारिने व्यक्ति साथी–साथी थिए। आपसी विवाद बढेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलको सीसीटीभी फुटेजमा ६ जनाको समूह देखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस