प्युठान,५ जेठ। प्युठानमा भिरबाट लडेर एकजनाको मृत्यु भएपछि प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्युठानको नौबहिनी गाउँपालिका–६ लुङमा जेठ ३ गते १९ वर्षीय मधु सुनारको फेरा सामुदायिक वनमा भिरबाट लडेर मृत्यु भएको थियो । उक्त घटनामा संलग्नताको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
पक्राउ पर्नेहरूमा सोही वडाका केशव केसी, गोविन्द घर्ती, नरेन्द्र केसी, बसन्तबहादुर घर्ती र युवराज केसी रहेका छन्। उनीहरूविरुद्ध थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार वनभोज खान गएका युवाहरूलाई केही व्यक्तिले लखेट्दा भिरबाट लडेर मधु सुनारको मृत्यु भएको बताइएको छ। मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस