राजनीतिक सेटिङमा प्रधानन्यायाधीश नियुक्ति भएको खत्रीको आरोप
जेठ ०८, २०८३
दाङ,८ जेठ ।लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक सेटिङका आधारमा भएको दाबी गरेका छन्।
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले शर्मा विगतदेखि नै राजनीतिक पहुँच मिलाउन सिपालु रहेको र यसपटक पनि त्यही आधारमा प्रधानन्यायाधीश बन्न सफल भएको आरोप लगाए।
“योग्यता र विज्ञताको आधारमा होइन, राजनीतिक कनेक्सनका आधारमा नियुक्ति भएको हो,” खत्रीले भने।
उनले अतिरिक्त न्यायाधीश रहँदा नै राजनीतिक दलका कार्यालयमा पुगेर कृतज्ञता व्यक्त गर्ने र पारिवारिक पहुँचको प्रयोग गर्ने प्रवृत्तिले अहिलेको नियुक्ति विवादास्पद बनेको टिप्पणी गरे।
त्यसैगरी, उनले बाँके जिल्लामा पछिल्ला दिनमा विभिन्न विषयमा अन्याय भइरहेको भन्दै चिन्ता व्यक्त गरे। प्रदेश सुशासन केन्द्र अन्यत्र सार्ने प्रयासप्रति आपत्ति जनाउँदै उनले यस्तो निर्णय स्वीकार्य नहुने बताए।
“सुशासन केन्द्र नसारियोस्, बाँकेलाई अन्याय हुने कुनै पनि कदम स्वीकार्य छैन,” उनले भने। यस्तै, विद्युत अनियमितताका कारण बाँके क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस