काठमाडौ,६ असार । स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा २ ख ६४३८ नम्बरको बस शुक्रबार बिहान करिब ८ः५० बजे अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खस्दा दुर्घटना भएको हो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।
उपचारका क्रममा बर्दिबास नगरपालिका निवासी करिब ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ। अन्य २८ जना घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।
बस चालक महोत्तरीको गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस