after_navbar

तुलसीपुरको बजेट २ अर्ब ४४ करोड: पूर्वाधार र उद्योग प्राथमिकतामा


१ घण्टा अगाडि


दाङ,८ असोज । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले रु. २ अर्ब ४४ करोड १५ लाख १९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो। १९औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख स्यानी चौधरीले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, उद्योग प्रवर्द्धन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।

उपमहानगरपालिकाका अनुसार बजेट आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, सडक बोर्ड, नगर विकास कोष तथा बैंक मौज्दातबाट व्यवस्थापन गरिनेछ। आगामी वर्ष आन्तरिक स्रोतबाट रु. ५४ करोड तथा मालपोत रजिस्ट्रेशन शुल्कबाट रु. २४ करोड राजस्व संकलन हुने अनुमान गरिएको छ।

संघीय र प्रदेश सरकारबाट प्राप्त समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानलाई पनि आयको प्रमुख आधारका रूपमा लिइएको छ।
व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु. ४५ करोड ३ लाख २१ हजार विनियोजन गरिएको छ।

यस्तै विषयगत शाखा, वडा स्तरीय योजना, नगरस्तरीय आयोजना, गौरवका आयोजना तथा बहुवर्षीय योजनाका लागि आवश्यक बजेट छुट्याइएको छ। कुल बजेटमध्ये ५६ प्रतिशत चालु खर्च, ४२.३४ प्रतिशत पूँजीगत खर्च तथा १.६५ प्रतिशत वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ।

उद्योग प्रवर्द्धनका लागि तुलसीपुर–१६ स्थित औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपप्रमुख चौधरीका अनुसार औद्योगिक ग्रामलाई सञ्चालनयोग्य बनाउन आवश्यक संरचना निर्माण गरिनेछ, जसले स्थानीय उद्योग स्थापना, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैगरी, नगरको मुख्य बजार क्षेत्रमा पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै आकाशे पुल (स्काइ वाक) निर्माण गर्ने योजना अघि सारिएको छ।

यसका लागि आगामी आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ। सवारी चाप बढ्दै जाँदा सडक पार गर्न कठिनाइ भइरहेका कारण दुर्घटना न्यूनीकरण तथा सुरक्षित आवागमन सुनिश्चित गर्न यो योजना ल्याइएको हो।

उपमहानगरपालिकाले सडक पूर्वाधार, नगरस्तरीय आयोजना, वडा केन्द्रित योजना तथा बहुवर्षीय परियोजनालाई समेत प्राथमिकतामा राख्दै सेवा प्रवाह सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।

नयाँ बजेटमार्फत उत्पादन, लगानी र रोजगारी अभिवृद्धि गर्दै समग्र नगर विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="