after_navbar

तीन महिनामा थपिए १ लाख ८१ हजार मतदाता


२ घण्टा अगाडि


दाङ,१० असार । आगामी स्थानीय तह निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। आयोगले पछिल्लो तीन महिनामा मात्र एक लाख ८१ हजार ३६७ नयाँ मतदाता थपिएको जनाएको छ, जसलाई निर्वाचन पूर्वाधार सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा लिइएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिकको क्रम तीव्र बनेको छ। यस अवधिमा १८ हजार ६२२ वटा निवेदन प्राप्त हुनु पनि नागरिकको सहभागिता बढ्दो रहेको संकेत भएको उनले बताए।

हाल आयोगले मतदाता नामावली व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने, मतदान स्थल तथा केन्द्रहरूको पुनरावलोकन गर्ने र प्रविधिमैत्री प्रणाली विकास गर्ने कामलाई प्राथमिकता दिएको छ।
यसै सन्दर्भमा राष्ट्रियसभाअन्तर्गतको समितिमा भएको छलफलमा निर्वाचन प्रणालीलाई अझ पारदर्शी, भरपर्दो र समयमै सम्पन्न गराउन विभिन्न सुझावहरू आएका छन्।

विशेषगरी निर्वाचन मिति समयमै घोषणा गर्ने, आवश्यक बजेट सुनिश्चित गर्ने, रिक्त जनशक्ति पूर्ति गर्ने तथा आधुनिक उपकरणमार्फत मतपत्र छाप्ने विषयमा जोड दिइएको छ।

त्यसैगरी गलत सूचना (मिसइन्फर्मेसन) नियन्त्रण गर्न प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा पनि सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन्।

आयोगले यी सुझावलाई समेट्दै आगामी निर्वाचनलाई व्यवस्थित, विश्वसनीय र प्रविधिमैत्री बनाउने तयारी अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="