after_navbar

तुलसीपुरमा सर्प उद्धार ब्यबस्थापन तालिम  “मानव र सर्पको रक्षाका लागि यो तालिम कोसेढुङ्गा”


२ घण्टा अगाडि



​दाङ, १० असार । दाङको तुलसीपुरमा “वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गरौँ” भन्ने मूल नाराका साथ सञ्चालित दुई दिने ‘सर्प उद्धार तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम’ (मंगलबार)  समापन भएको छ। डिभिजन वन कार्यालय दाङ, घोराहीको आयोजनामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको हो।

​तालिम समापन कार्यक्रममा डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत ओम बहादुर वलीको अध्यक्षता तथा  नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो।

​कार्यक्रममा  भट्टराईले तालिममा सहभागीहरूले प्राप्त गरेको ज्ञान निकै संवेदनशील र महत्त्वपूर्ण रहेको बताए । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न र पर्यावरण सन्तुलन कायम राख्न सर्पहरूको सुरक्षित उद्धार अपरिहार्य रहेको बताए । यहाँ सिकेको प्राविधिक सीपलाई आफैँमा मात्र सीमित नराखी समुदायस्तरसम्म पुर्‍याएर सर्प सम्बन्धी भ्रम र डर चिर्न सञ्चारकर्मी र स्थानीय अगुवाको रूपमा भूमिका खेल्नुपर्ने बताए।
सहभागी कमला सापकोटाले तालिमले समाजमा रहेको परम्परागत सोच परिवर्तन गरेको बताइन्।

“यसअघि सर्प देख्ने बित्तिकै डर लाग्ने र मार्ने मानसिकता थियो। तर यो तालिमले सर्प र हाम्रो पर्यावरणको सम्बन्धबारे आँखा खोलिदिएको छ।  उनले भनिन , अब हामी गाउँघरमा सर्प निस्कँदा मार्ने होइन, सुरक्षित रूपमा उद्धार र व्यवस्थापन गर्नेछौँ।”

​कार्यक्रमका अध्यक्ष एवं डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत  वलीले सर्पको टोकाइबाट बच्ने उपाय र सर्पको संरक्षण दुवै पक्षलाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको र यसले वन कर्मचारी तथा सरोकारवालाहरूको क्षमता विकासमा ठुलो टेवा पुर्‍याएको उल्लेख गरे।

तालिमका प्रमुख प्रशिक्षक वसन्त सुवेदीले सहभागीहरूलाई सर्पको पहिचान, यसको व्यवहार, आधुनिक औजारहरूको प्रयोग गरी सुरक्षित रूपमा सर्पको उद्धार गर्ने तरिका र व्यवस्थापनका विविध पक्षहरूबारे व्यावहारिक प्रशिक्षण दिएका थियो।
​तालिममा वन कार्यालयका कर्मचारी, वन रक्षक, स्थानीय समुदायका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण बिरजङ ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="