दाङ, १० असार । दाङको तुलसीपुरमा उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय घोराहीको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम गरिएको हो।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। संघको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय उद्योगीहरूले उत्पादन गर्ने वस्तुको गुणस्तर मापदण्डअनुसार कसरी कायम गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।
अन्तर्क्रियामा बजारमा पठाइने वस्तुहरूमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विवरण मूल्य, उत्पादन मिति, उपभोग्य अवधि र ब्याच नम्बरका कानुनी तथा व्यावहारिक पक्षबारे विस्तृत छलफल भएको थियो ।
प्रमुख अतिथि केसीले यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै यसले व्यवसायीहरूलाई कानुनी रूपमा सही लेबलिङ र गुणस्तरीय उत्पादन बजारमा ल्याउन सहयोग पुग्ने बताए।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य प्राविधिक सुदर्शन शाहीले कार्यपत्र प्रस्तुत गर्दै खाद्य ऐन, नियम तथा निर्देशिकाअनुसार उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि प्रत्येक उपभोग्य वस्तुमा अनिवार्य रूपमा लेबलिङ हुनुपर्ने बताए। उनले गुणस्तर प्रमाणीकरणका लागि उद्योगहरूले अपनाउनुपर्ने प्रक्रियाबारे पनि जानकारी गराएका थिए।
घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माको व्यवसायीहरूले आफ्नो व्यवसायको प्रकृति स्पष्ट रूपमा पहिचान गर्नुपर्नेमा जोड दिँदै उपभोक्ता हितलाई केन्द्रमा राखेर आफूलाई अद्यावधिक गर्न आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा ४० भन्दा बढी उद्योगी, व्यवसायी तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बजारमा गुणस्तरीय र सही लेबलिङ भएका वस्तु सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै सम्बन्धित निकायसँग प्रक्रिया सरल र व्यावहारिक बनाउन माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस