दाङ,११ असार। लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ का लागि बिनियोजित बजेटप्रति व्यापक असन्तुष्टि व्यक्त भएपछि लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
बुधबार पनि बैठक बस्न सकेन । बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकसमेत बस्न सकेन। सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो।
बैठक बस्नुभन्दा करिब एक घण्टा अगावै प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन्।
स्रोतका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यको आग्रहमा सभामुख तुलाराम घर्ती मगरले बैठक स्थगित गर्न निर्देशन दिएका हुन्।
प्रदेशसभाको आठौँ अधिवेशनको ११औँ बैठकमा बिनियोजित बजेटमाथि दफावार छलफल गर्ने कार्यसूची थियो। तर बजेट बिनियोजनमा विभेद भएको भन्दै सांसदहरूले कडा विरोध गर्दै पुनरावलोकनको माग गरेपछि बैठक बस्न नसकेको हो।
लुम्बिनी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस