दाङ,११ असार। बाँकेको नौंबस्तास्थित बालसुधार गृहबाट फरार एक जना बन्दी रोल्पाबाट पक्राउ परेका छन्।
रोल्पाको रुन्टीगढी गाउँपालिका–२ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई बुधबार बेलुका करिब ५ बजे प्रहरीले नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक मनिष थापा र अस्थायी प्रहरी पोष्ट सुर्पालबाट प्रहरी सहायक निरीक्षक बलबहादुर परियारको नेतृत्वमा खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ती व्यक्तिलाई हाल इलाका प्रहरी कार्यालय होलेरीमा राखिएको छ। उनलाई बाँके पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
कर्तव्य ज्यान मुद्दामा बालसुधार गृहमा राखिएका उनी २०८१ सालमा नौंबस्तास्थित सुधार गृहमा भएको तनावका बीच मौका छोपेर फरार भएका थिए।
उनीलाई पक्राउ गर्न जिल्ला अदालत बाँकेले जिल्ला प्रहरी कार्यालय रोल्पालाई पत्राचार गरेको थियो।
प्रतिक्रिया दिनुहोस