गुल्मी,११ असार। श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–५ रातामाटाकी ३७ वर्षीया मुना कुमाललाई उनका ४१ वर्षीय श्रीमान यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी दाउराको चिर्पटलगायतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
मंगलबार राति करिब साढे ११ बजे भएको उक्त घटनाबारे प्रहरीले बुधबार बिहान साढे ७ बजे सूचना पाएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट वरिष्ठ हवल्दार जगनारायण केवटको नेतृत्वमा खटिएको टोलीले घाइते मुनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो।
उपचारकै क्रममा बुधबार बिहान करिब १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भिमकिरण बोगटीका अनुसार आरोपी श्रीमान यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस