दाङ,११ असार। बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ८१ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उक्त बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, खानेपानी, सुशासन तथा सामाजिक समावेशीकरणलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
कुल बजेटमध्ये २३ करोड ४० लाख रुपैयाँ पुँजीगततर्फ र ३९ करोड २६ लाख रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ। प्रशासनिक खर्चका लागि ८ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ। बजेटका स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी तथा मौज्दात रकम रहेका छन्।
“कृषि, पर्यटन, सुशासन र पूर्वाधार स् समृद्ध बंगलाचुलीको आधार” भन्ने मूल नारालाई आत्मसात् गर्दै बजेटले आर्थिक विकास, गरिबी न्यूनीकरण, उत्पादनमूलक क्षेत्रमा लगानी तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ।
क्षेत्रगत रूपमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी २८ करोड ४७ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार तथा सञ्चालन व्यवस्थापनका लागि ४ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ। स्वास्थ्य क्षेत्रमा २ करोड ३० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरणका लागि “एक वडा, एक कृषि तथा पशुपक्षी विकास प्राविधिक” कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ। यस क्षेत्रका लागि ६३ लाख रुपैयाँ तथा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ। राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकासतर्फ “एक घर, एक धारा” कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। सडक, सिँचाइ, खानेपानी, विद्युतीकरण तथा विपद् व्यवस्थापनका लागि थप बजेट व्यवस्था गरिएको छ।
सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा युवाको क्षमता विकासका लागि ४० लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। शहीद परिवार तथा द्वन्द्वपीडित सहयोगका लागि ८ लाख र बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२र०८३ मा कृषि, सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। हालसम्म १०५ किलोमिटर सडक मर्मत, १० किलोमिटर नयाँ ट्र्याक खोल्ने, २१ किलोमिटर सडक स्तरोन्नति गर्ने तथा १० वटा खानेपानी आयोजना सम्पन्न गरिएको उल्लेख गरिएको छ।
यद्यपि बेरोजगारी, बसाइँसराइ, कृषि उत्पादनको बजारीकरण, विपद् व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाह अझै चुनौतीका रूपमा रहेको भन्दै नयाँ बजेट ती समस्याको समाधानतर्फ केन्द्रित गरिएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस