दाङ, १२ असार । लक्ष्मी सनराइज बैंक तुलसीपुर शाखाले राप्ती बबई क्याम्पसलाई करिब १ लाख ६० हजार रुपैयाँ बराबरको स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार एक कार्यक्रम गरी उक्त बोर्ड हस्तान्तरण गरेको हो । क्याम्पस प्रमुख गणेश पार्धेको अध्यक्षता तथा सञ्चालक समितिका उपाध्यक्ष मीनराज ओलीको प्रमुख आतिथ्यता तथा शाखा प्रबन्धक रञ्जन कोइरालाको विशिष्ट आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले स्मार्ट बोर्डले शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। उनले शिक्षामा निजी क्षेत्रको लगानीलाई सकारात्मक भन्दै यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। शाखा प्रबन्धक कोइरालाले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
क्याम्पस प्रमुख पार्धेले बैंकको सहयोगले क्याम्पसमा प्रविधिमैत्री शिक्षण वातावरण विस्तारमा टेवा पुग्ने बताउँदै आभार व्यक्त गरे। कार्यक्रममा क्याम्पसका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो
प्रतिक्रिया दिनुहोस