after_navbar

उपमेयर राना मगरको सडक दुर्घटनामा निधन


२ घण्टा अगाडि


प्यूठान,१४ असार। स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सवारी दुर्घटनामा परेर निधन भएको छ। आफ्नै गाडी चलाइरहेका उनी शनिबार बेलुकी दुर्घटनामा परेका हुन्।

प्रहरीका अनुसार बेलुकी करिब पौने ५ बजेतिर लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी–२ बाङ्गेशाल क्षेत्रमा करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला गाडीमा उनी एक्लै सवार थिए।

भीरालो र अप्ठेरो भूगोलका कारण उद्धार कार्य ढिला भएको प्रहरीले जनाएको छ। रुखमा अड्किएको अवस्थामा गाडीभित्रै च्यापिएका उपमेयर मगरलाई करिब सवा ७ बजे मात्रै उद्धार गरी बाहिर निकालिएको थियो।

अचेत अवस्थामा उद्धार गरिएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री लगिएको थियो। तर, चिकित्सकले राति ९:२० बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट खाल र इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी टोली खटिएको थियो। उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङस्थित घरतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित मगरको निधनसँगै नगरपालिकामा शोक छाएको छ।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="