दाङ, १५ असार। जलवायु परिवर्तनको प्रभाव प्रतिदिन बढ्दै जाँदा यसको प्रत्यक्ष असर वन क्षेत्र हुँदै जनजीवनसम्म फैलिन थालेको छ। वन तथा पर्यावरण क्षेत्रमा देखिएको प्रतिकुल प्रभावको विषय पछिल्लो समय सार्वजनिक चासोको विषय पनि बनेको छ ।
पछिल्ला वर्षहरूमा देखिएको मौसमको असन्तुलन, बेमौसमी वर्षा, अत्यधिक गर्मी र भूमिगत पानीको सतह घट्दै जानुले दाङसहित देशका विभिन्न क्षेत्रमा वातावरणीय संकट गहिरिँदै गएको संकेत गर्छ। यसको प्रभाव वन व्यवस्थापनदेखि कृषि प्रणाली र स्थानीय समुदायको जीवनशैलीसम्म फैलिन थालेको छ।
यही परिवर्तित समय र प्रभावलाई मध्यनजर गरेर तुलसीपुरमा आयोजित ‘वन, वातावरण र जलवायु परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ। अन्तरक्रिया कार्यक्रमले यी मुद्दालाई केवल नीतिगत बहसमा सीमित नराखी जनस्तरसम्म कसरी प्रभावकारी रूपमा पुर्याउने भन्ने प्रश्नलाई केन्द्रमा ल्याएको छ। कार्यक्रममा सहभागीहरूले जलवायु संकट अब सैद्धान्तिक बहसभन्दा बाहिर निस्केर व्यवहारिक चुनौतीका रूपमा देखापरेको धारणा राखेका थिए।
लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको सहयोग तथा तुलसीपुर मिडिया प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा वन व्यवस्थापन, राजस्व संकलन र रोजगारी सिर्जनामा केही प्रगति भए पनि संरचनागत समस्या र जनशक्तिको अभाव अझै चुनौतीका रूपमा रहेको तथ्य प्रस्तुत गरिएको थियो।
डिभिजन वन कार्यालय दाङका प्रमुख वेसिन्द्रराज सुवेदीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब ६० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। वन क्षेत्रबाट राजस्व संकलन र नर्सरी कार्यक्रममार्फत हजारौँ श्रमदिन बराबरको रोजगारी सिर्जना भए पनि सब–डिभिजन कार्यालयहरू भाडामा सञ्चालन गर्नुपर्ने अवस्था र स्पष्ट कार्यनिर्देशिकाको अभावले कार्यसम्पादनमा समस्या देखिएको छ।
उनले बदलिँदो प्रविधिसँग अनुकूल हुन नसक्दा सेवा प्रवाह अझै परम्परागत शैलीमै सीमित रहेको उल्लेख गर्दै आधुनिक प्रविधि र दक्ष जनशक्तिको आवश्यकता औँल्याएका थिए।
अन्तरक्रियामा प्रपत्रकार गजेन्द्र बोहराले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकमध्ये अग्रस्थानमा रहेको उल्लेख गरेका थिए। उनले दाङमा सहित अन्य क्षेत्रमा देखिएको बेमौसमी वर्षा, अत्यधिक गर्मी र पानीको स्रोतमा आएको गिरावटले जलवायु संकटलाई स्थानीय स्तरमै गम्भीर बनाएको छ।बताए। यि विषयमा पत्रकारहरुले तथ्य र प्रमाणमा आधारीत रहेर खोज तथा रिर्पोटिङ गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले वातावरण तथा विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा सत्यता, सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका। उनले जलवायु र वातावरणका विषयलाई तथ्य र अनुसन्धानमा आधारित बनाएर प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सहभागी पत्रकारहरूले वन, जैविक विविधता, वातावरण संरक्षण र जलवायु परिवर्तनजस्ता विषयमा नियमित, खोजमूलक र जनचेतनामूलक पत्रकारिता आवश्यक रहेको बताएका थिए। उनीहरूले सरकारी निकाय र सञ्चारमाध्यमबीच निरन्तर संवाद र सहकार्य भएमा वातावरण संरक्षणका प्रयास अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
तुलसीपुर मिडिया प्रालिका अध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन र वातावरणका मुद्दालाई नीति तहदेखि जनस्तरसम्म प्रभावकारी रूपमा उठाउन सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने बताइएको थियो। कार्यक्रमको स्वागत प्रालिका प्रबन्ध निर्देशक दर्शन आचार्यले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस