दाङ,२९ असार । पहिरोमा पुरिएर कालिकोटमा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो ।
सोमबार दिउँसो करिब १ः३० बजे पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरोले पुरिँदा स्थानीय ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रहरीका अनुसार घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको हो। उद्धारपछि दुवैको मृत्यु भइसकेको पुष्टि भएको छ। घटनास्थल प्रहरी चौकी मेहलमुडीबाट करिब १० किलोमिटर टाढा रहेको छ। जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्री नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालबाट चिकित्सकको टोली घटनास्थलतर्फ खटिएको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस