after_navbar

हिमपातमा बेपत्ता ३०७ पशु २७ दिनपछि जीवितै भेटिए


मिनेट अगाडि


हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशु जीवितै फेला परेका छन्। चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु असोज १० र ११ गते परेको हिमपातपछि बेपत्ता भएका थिए।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयको टोलीले खोजी गर्ने क्रममा लाप्चा क्षेत्रको साँक्या खोलामा हिउँमा उभिएको अवस्थामा ती पशु फेला पारेको हो। उद्धार गरिएका पशुलाई सुरक्षित रूपमा तुम्लिङमा पु¥याइएको वडाध्यक्ष तामाङले बताए।

उनका अनुसार पशुको खोजीका लागि स्थानीय चार समूहमा विभाजित भएर खटिएका थिए। लामो समयसम्म पशु नभेटिएपछि गाउँलेले जीवितै फेला पर्ने आशा लगभग मारिसकेका थिए। तर, २७ दिनसम्म घाँस नखाई बसेका पशु जीवितै भेटिएपछि स्थानीय खुसी भएका छन्।

फेला परेका पशुमध्ये ५० वटा घोडा, २० वटा झोपा र २३७ वटा चौँरीगाई रहेका छन्। खोजीका लागि खटिएका तीन समूह अझै परिचालित रहेकाले थप पशु फेला पर्न सक्ने वडाध्यक्ष तामाङले बताए।

लिमीको ग्याउ खोला र लिङ खोलाका पाटनमा चरिरहेका बेला भारी हिमपात भएपछि तीन सयभन्दा बढी पशु बेपत्ता भएका थिए। लामो समयसम्म पशुको अवस्था अज्ञात रहेपछि स्थानीय चिन्तित बनेका थिए।

ठूलो सङ्ख्यामा पशु बेपत्ता भएपछि नाम्खा गाउँपालिकाले खोजी कार्यमा सहजता ल्याउन ताक्चीदेखि ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेन्डर आह्वान गरेको थियो। सडकमा जमेको हिउँ हटाएपछि बेपत्ता पशुको खोजीमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="