चीन। चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु उत्तरी तिब्बतको नाग्छु क्षेत्रस्थित एक उच्च हिमाली काउन्टीमा रहेको थियो। भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको जनाइएको छ।
भूकम्पका कारण केन्द्रविन्दु आसपासका गाउँमा केही घरका भित्तामा चिरा परेको छ। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा मानिसहरू घरबाट बाहिर निस्केर सडक तथा गाडीभित्र आश्रय लिइरहेको देखिन्छ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पपछि आसपासका क्षेत्रमा ३ देखि ४ म्याग्निच्युडका परकम्पसमेत गएको बताइएको छ।
समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर उचाइमा रहेको भूकम्पको केन्द्रविन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा छ। यो सन् २०२४ को जनवरीयता चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको समाचारमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस