काठमाडौ। इरान र अमेरिकाबीचको तनाव फेरि बढ्दै गएको छ । आर्थिक दबाब, सैन्य गतिविधि र रणनीतिक जलमार्गमा देखिएको तनावका कारण मध्यपूर्वमा पुनः युद्ध भड्किने जोखिम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का उपकमाण्डर मेजर जनरल मुस्तफा इजादीले इरानका शत्रुहरूले आर्थिक दबाब बढाउनुका साथै नागरिकको विश्वास कमजोर पारेर देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
यसैबीच, हर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानी नौसेनाका अनुसार ती ट्याङ्कर हर्मुज जलमार्गको पूर्वी क्षेत्रमा रहेको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका थिए ।
यद्यपि, ट्याङ्करमा आगलागी हुनुको कारण र घटनाको विस्तृत विवरणबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्षसम्म इरानसँग कुनै सम्झौता हुन नसके पुनः युद्ध सुरु गर्ने विषयमा आफू सकारात्मक रहेको संकेत गरेका छन् । उनको पछिल्लो अभिव्यक्तिले इरान र अमेरिकाबीचको तनाव थप बढ्न सक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस