काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी विवादमा दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ म्याद तामेलीको विषयमा स्पष्टता नहुँदा स्थगित भएको छ ।
सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित कानुन व्यवसायीले नवनियुक्त आइजिपी मनोज केसीलाई मुद्दाको म्याद तामेल नभएको जानकारी गराएपछि सुनुवाइ अघि बढ्न नसकेको हो ।
यसअघि सर्वोच्च अदालतले कार्कीको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
सुनुवाइका क्रममा इजलासले महान्यायाधिवक्तालाई बोलाएर मुद्दाको म्याद तामेली सुनिश्चित गर्ने तयारी गरेको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मनोज केसीलाई आइजिपी नियुक्त गर्ने र दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयसम्बन्धी फाइल अर्को पेसीमा अनिवार्य रूपमा पेस हुने व्यवस्था मिलाउन महान्यायाधिवक्तालाई निर्देशन दिएको छ ।
सरकारले गत १८ कात्तिकमा दानबहादुर कार्कीलाई पदबाट हटाउँदै मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस