काठमाडौँ ,७ साउन। उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश दिएको छ।
न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले आगामी साउन १२ गते दुवै पक्षलाई अदालतमा उपस्थित गराउन आदेश दिँदै अधिवेशन स्थगनको अन्तरिम आदेश जारी गरेको हो।
साउन १० गतेका लागि तय भएको अधिवेशन रोक्न माग गर्दै विष्णुबहादुर बस्नेतले अदालतमा रिट दायर गरेका थिए। उनले जिल्ला सभापति जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाउँदै रास्वपाको केन्द्रिय अनुशासन समितिको निर्णयबारे प्रश्न उठाएका छन्।
रिट निवेदक बस्नेत र विपक्षी श्रेष्ठ दुवैलाई पार्टीले अनुशासनहीनता अभियोगमा पदबाट निलम्बन गरिसकेको छ। यद्यपि, पार्टीको नगर अधिवेशनमा संयोजकको भूमिका महेश थापाले निर्वाह गरिरहेका छन्। थापाले १ र ३ नम्बर वडाको अधिवेशनसमेत सम्पन्न गरिसकेका छन्।
तर, नगर सभापति पदमा निलम्बन भइसकेको अवस्थामा अधिवेशन गर्न मिल्दैन भन्ने असन्तुष्ट नेताहरूको तर्क छ। उनीहरूले लोकतान्त्रिक पद्धतिको उल्लंघन भन्दै अधिवेशन रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याएका हुन्।
अब यस मुद्दामा साउन १२ गते दुबै पक्षको बहसपछि स्थायी आदेश हुने या नहुनेबारे अदालतले निर्णय गर्नेछ।
आदेश हेर्नुहोस्

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस