काठमाडौं,१५ साउन। प्रतिबन्धित लागु औषध कोकिनसहित प्रहरीले चारजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले विशेष सूचनाको आधारमा कोकिन कारोबारमा संलग्न चार जना विदेशी नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट कुल १ किलो ६०६ ग्राम कोकिन बरामद गरिएको छ।
प्रहरीका अनुसार ३५ वर्षीया भारतीय नागरिक रूबिना अब्दुल्लाह शेख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेकी हुन्। उनले बोकेको झोलाभित्र लुकाइराखिएको १.५७४ किलोग्राम कोकिन फेला परेको थियो। हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको शंकास्पद गतिविधि निगरानी गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
शेखसँगै सो कोकिन लिन आएका ३३ वर्षीय भारतीय नागरिक अरुण प्रतापलाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसअघि ब्युरोको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–४ इचंगुनारायण क्षेत्रबाट दुई जना विदेशी नागरिकलाई कोकिनसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३७ वर्षीय इरिट्रियन नागरिक युसुफ एटम छन्, जसको साथबाट ३२ ग्राम कोकिन बरामद भएको थियो। सोही अनुसन्धानको सिलसिलामा ४४ वर्षीय रूसी नागरिक एन्ड्रिय मलेसेभलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस