कैलाली,२६ फागुन । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हाताभित्र एक जना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्।
सोही कार्यालयमा कार्यरत बझाङ घर भएका ३० वर्षीय प्रहरी जवान सन्देशबहादुर चनारा मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चनारा कार्यालय भवनको छतबाट खसेको भनिएको छ।
गएराति करिब ११ बजेतिर अर्को सुरक्षाकर्मीले उनलाई लडेको अवस्थामा भेटेपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनाको कारणबारे अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।
संयोजक तिमिल्सिनाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। मृतक चनारा विगत ६ महिनादेखि टीकापुर इलाका प्रहरी कार्यालयमा कार्यरत थिए।
यता मृतकका आफन्तले भने उनको मृत्यु शंकास्पद रहेको बताएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस