after_navbar

​शिक्षकको मौन संघर्ष


७ घण्टा अगाडि


विवेक देवकोटा । ​शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र होइनन् उनीहरू समाज निर्माणका अदृश्य शिल्पी हुन् । सक्षम नागरिक, जिम्मेवार नेतृत्व र सभ्य समाज निर्माणको आधार शिक्षककै ज्ञान, त्याग र समर्पणमा अडिएको हुन्छ तर विडम्बना, समाजलाई उज्यालो दिने यही वर्ग आफैँ अनेकौँ मौन संघर्षको घेराभित्र आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । शिक्षकका पीडा प्रायः सार्वजनिक बहसको केन्द्रमा आउँदैनन्, उनीहरूको श्रमलाई सामान्य कर्तव्यको रूपमा मात्र लिने प्रवृत्ति अझै विद्यमान छ । वास्तवमा शिक्षकको जीवन निरन्तर मौन संघर्षको दीर्घ यात्रा हो ।

​नेपालको शिक्षा प्रणालीमा समयक्रमसँगै पाठ्यक्रम सुधार, प्रविधिको प्रयोग र शिक्षण विधिमा आधुनिकीकरण देखिएको छ । तर शिक्षकको वास्तविक अवस्था भने अपेक्षाअनुसार सुधार हुन सकेको छैन । विशेषतः सामुदायिक विद्यालयका शिक्षकहरू सीमित स्रोत, न्यून सुविधा र बढ्दो सामाजिक अपेक्षाबीच शिक्षण कार्यमा संलग्न छन् । ग्रामीण भेगका विद्यालयहरूमा अझै पर्याप्त कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय तथा प्रविधिमैत्री पूर्वाधारको अभाव छ । यस्ता कठिन परिस्थितिमा पनि शिक्षकहरूले विद्यार्थीमा ज्ञानको ज्योति फैलाइरहेका छन्, जुन आफैँमा प्रशंसनीय त्याग हो ।

​शिक्षकको जीवनको अर्को गम्भीर पक्ष आर्थिक चुनौती हो । समाजले शिक्षकलाई “राष्ट्र निर्माता” भन्ने सम्मानित शब्द प्रयोग गरे पनि व्यवहारमा उनीहरूको जीवनस्तर सन्तोषजनक देखिँदैन । विशेषतः निजी विद्यालयमा कार्यरत शिक्षकहरू न्यून पारिश्रमिकमा अत्यधिक कार्यभार वहन गर्न बाध्य छन् । बिहानदेखि साँझसम्म कक्षामा अध्यापन, घर फर्किएपछि गृहकार्य परीक्षण, पाठ योजना निर्माण, परीक्षा व्यवस्थापन लगायतका कार्यले उनीहरूको दैनिक जीवन अत्यन्त व्यस्त र मानसिक रूपमा थकित बनाउँछ । यही श्रमको उचित मूल्याङ्कन प्रायः नहुने अवस्था अझै विद्यमान छ ।

​आजको शिक्षक केवल पाठ्यपुस्तकका अध्येता मात्र होइनन् । उनीहरू अभिभावक, परामर्शदाता, मनोवैज्ञानिक तथा समाज सुधारकका रूपमा पनि कार्यरत छन् । विद्यार्थीका मानसिक समस्या, व्यवहारगत चुनौती र सामाजिक प्रभावसँग प्रत्यक्ष रूपमा जुध्नुपर्ने अवस्था बढ्दो छ । सूचना प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरूको सोच, रुचि र व्यवहारमा परिवर्तन आएको छ, जसले शिक्षकलाई निरन्तर अद्यावधिक रहन बाध्य बनाएको छ तर आवश्यक तालिम, प्रविधि र स्रोतको समान पहुँच सबै शिक्षकसम्म पुग्न सकेको छैन, जसले शिक्षण गुणस्तरमा चुनौती थपेको छ ।

​उदाहरणको रूपमा कोभिड–१९ महामारीको समयले शिक्षकको मौन संघर्षलाई अझ स्पष्ट रूपमा उजागर गर्‍यो । विद्यालय बन्द भए पनि शिक्षण प्रक्रिया रोकिएन । सीमित प्रविधि र कठिन परिस्थितिमा शिक्षकहरूले अनलाइन कक्षा, फोन सम्पर्क तथा वैकल्पिक माध्यमबाट शिक्षणलाई निरन्तरता दिए । कतिपय शिक्षकहरूले आफ्नै खर्चमा इन्टरनेट, मोबाइल तथा उपकरणको व्यवस्था गरे । दुर्गम क्षेत्रमा त घरदैलो शिक्षणसम्म गर्नुपर्ने अवस्था रह्यो । यसले प्रमाणित गर्‍यो कि शिक्षक केवल पेसागत कर्मचारी होइनन्, संकटको घडीमा पनि समाजलाई जोडिराख्ने आधारस्तम्भ हुन् ।

​शिक्षकको अर्को मौन पीडा सामाजिक दृष्टिकोणसँग सम्बन्धित छ । पछिल्ला वर्षहरूमा शिक्षकप्रति सम्मानमा केही कमी आएको अनुभूति गरिँदैछ । पहिलेको गुरुशिष्य सम्बन्धमा रहेको आत्मीयता र आदर क्रमशः कमजोर हुँदै गएको देखिन्छ । विद्यार्थी अनुशासनमा आएको परिवर्तन, अभिभावकको बढ्दो अपेक्षा र सामाजिक सञ्जालको प्रभावले शिक्षकमाथि थप दबाब सिर्जना गरेको छ । सानो त्रुटिसमेत सार्वजनिक आलोचनाको विषय बन्न थालेको वर्तमान परिवेशले शिक्षकको मनोबलमा नकारात्मक प्रभाव पारिरहेको छ ।

​नेपालमा शिक्षक आन्दोलनहरू बारम्बार हुनु आफैँमा गम्भीर सङ्केत हो । सेवा सुरक्षा, स्थायित्व, समान सुविधा र पेसागत सम्मानको माग गर्दै शिक्षकहरू लामो समयदेखि संघर्षरत छन् । अस्थायी, राहत तथा करार सेवामा कार्यरत हजारौँ शिक्षक अझै स्थायी सेवाको प्रतीक्षामा छन् । यसले शिक्षा प्रणालीमा अस्थिरता मात्र होइन, शिक्षकको मनोबल र कार्यक्षमतामा समेत प्रत्यक्ष असर पारेको छ ।

​यति धेरै चुनौतीका बीच पनि शिक्षक आफ्नो कर्तव्यबाट पछि हटेका छैनन् । बिहान विद्यालयको घन्टीसँगै उनीहरू नयाँ ऊर्जा र आशाका साथ कक्षामा प्रवेश गर्छन् । उनीहरूको लक्ष्य केवल परीक्षा उत्तीर्ण गराउनु मात्र होइन, सक्षम, सचेत र जिम्मेवार नागरिक निर्माण गर्नु हो । विद्यार्थीको सफलतामा आफ्नो जीवनको अर्थ खोज्ने यही भावना शिक्षक पेसाको सबैभन्दा ठूलो शक्ति हो ।

​राज्यले शिक्षा क्षेत्रमा विभिन्न नीति तथा कार्यक्रम अघि सारे पनि शिक्षकको जीवनस्तर र पेसागत सुरक्षामा अपेक्षित सुधार हुन सकेको छैन । शिक्षकको उचित पारिश्रमिक, प्रविधिमैत्री वातावरण, नियमित तालिम, पेसागत सुरक्षा र राजनीतिक हस्तक्षेपमुक्त प्रणाली अझै पूर्ण रूपमा स्थापित हुन बाँकी छ ।

पर्याप्त शिक्षक दरबन्दी नहुनु, विषयगत दक्षताको कमी र असमान वितरणले शिक्षण गुणस्तरमा प्रत्यक्ष असर पारिरहेको छ । शिक्षक तब मात्र थाक्दैनन् जब उनीहरूले आफ्नो श्रमको प्रतिफल विद्यार्थीको सफलतामा देख्छन् । कमजोर विद्यार्थीको प्रगति, पूर्व विद्यार्थीको सफलता, वा विद्यार्थीको कृतज्ञ शब्दले उनीहरूको सम्पूर्ण थकान हराउँछ । यही भावनात्मक सन्तोष नै शिक्षकलाई पुनः ऊर्जा दिने शक्ति हो ।

​शिक्षकको जीवन त्याग, धैर्य र समर्पणको निरन्तर यात्रा हो । उनीहरू आफ्ना पीडा खुलेर व्यक्त गर्दैनन्, तर समाजको भविष्य निर्माणमा निरन्तर समर्पित रहन्छन् । शिक्षकको यही मौन संघर्षले हाम्रो समाजलाई शिक्षित, सभ्य र समुन्नत बनाइरहेको छ । त्यसैले शिक्षकको सम्मान केवल पेसागत सम्मान होइन, राष्ट्रकै भविष्यप्रतिको सम्मान हो ।

यदि राज्य, समाज र नागरिक सबैले शिक्षकको मौन संघर्षलाई सही रूपमा बुझ्न सके, त्यसको मूल्याङ्कन गर्न सके, र आवश्यक सम्मान तथा सुविधा प्रदान गर्न सके मात्र शिक्षित, सक्षम र समृद्ध नेपालको सपना साकार हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="