कैलाली । आमाको हत्या गरेर १६ वर्षदेखि फरार रहेका कैलालीका प्रेमबहादुर शाही पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका-१ का ५८ वर्षीय शाहीलाई प्रहरीले भारतको उत्तर प्रदेशस्थित मेरठबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
शाहीले २०६७ पुस २८ गते घरायसी विवादका क्रममा ६५ वर्षीया आमा सुनरुपा शाहीको टाउकोमा ढुंगा प्रहार गरेका थिए । गम्भीर घाइते सुनरुपाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा पुस २९ गते मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि शाही फरार भएका थिए ।
प्रहरीका अनुसार उनी केही समय नेपालमै लुकेर बसेपछि भारत गएका थिए । भारतको दिल्ली पुगेका शाही पछि उत्तर प्रदेशको मेरठमा जडीबुटी व्यापार गर्न थालेका थिए । हिमाञ्चल प्रदेशबाट जडीबुटी ल्याएर गाउँ-गाउँमा बिक्री गर्दै आएका उनको अवस्थाबारे प्रहरीले गोप्य सूचना पाएपछि खोजी तीव्र बनाएको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले भारतीय प्रहरीको सहयोगमा मेरठबाट उनलाई नियन्त्रणमा लिएको हो । गड्डाचौकी सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रममा सोमबार बिहान ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
शाहीलाई जिल्ला अदालत कैलालीबाट पक्राउ मितिदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । उनले प्रहरीसँगको बयानमा हत्या गर्ने मनसाय नभई रिसको झोकमा ढुंगा प्रहार गरेको बताएका छन् ।
शाहीकी श्रीमती जमुनाले सासूको हत्या गरेको भन्दै श्रीमान्विरुद्ध उजुरी दिएकी थिइन् । उनका तीन छोरी र एक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस