after_navbar

तुलसीपुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु


६ मिनेट अगाडि


दाङ ।दाङको तुलसीपुरमा अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। अभियानको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले समाजमा हुने सबै प्रकारका हिंसा अन्त्यका लागि नागरिकस्तरबाटै सचेतना र खबरदारी आवश्यक रहेको बताएका छन्।

तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरूको समन्वयमा सुरु भएको कार्यक्रममा नगरप्रमुख खड्काले हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै न्यायका पक्षमा दृढ हुनुपर्नेमा जोड दिए। समाजमा हुने हिंसाको जिम्मेवारी प्रहरीको मात्र नभई प्रत्येक नागरिकको भएको उल्लेख गर्दै उनले नागरिक सचेत र सक्रिय नभएसम्म हिंसाका घटना न्यूनीकरण हुन नसक्ने बताए।

डिजिटल माध्यमबाट हुने हिंसाले मानिसको मानसिक स्वास्थ्यमा समेत असर पारिरहेको भन्दै उनले यसको नियन्त्रणका लागि तीनै तहका सरकारले प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्ने धारणा राखे।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटीले हिंसामुक्त समाज निर्माणको सुरुवात व्यक्ति र परिवारबाटै हुनुपर्ने बताए। आफूले गर्ने व्यवहार सही वा गलत के हो भन्ने विषयमा आत्ममूल्यांकन गर्दै परिवारबाटै हिंसा न्यूनीकरणको अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमराज पराजुलीले व्यक्तिको आचरण र व्यवहार लैंगिकमैत्री बन्न सके समाजलाई हिंसामुक्त बनाउन सहज हुने बताए। उनले कुनै पनि हिंसाको प्रतिकार गर्न नहिच्किचाउन र हिंसात्मक घटनाबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरे। राज्यका सबै कार्यालय तथा निकायमा लैंगिकमैत्री संरचना र रणनीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा बोल्ने अन्य सहभागीहरुले पितृसत्तात्मक सोच र संरचनाका कारण समाजमा लैंगिक हिंसा कायम रहेको बताए। हिंसा न्यूनीकरणका लागि व्यक्ति र परिवारसँगै सामाजिक संरचनामै परिवर्तन आवश्यक रहेको उनीहरूको भनाइ थियो। हिंसा गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सके यस्ता घटनामा कमी आउने बताएका थिए।

कार्यक्रममा सामाजिक सद्भाव कायम राख्न तथा हिंसा न्यूनीकरणका लागि विभिन्न टोलले गरेका प्रयासको प्रशंसा गर्दै तुलसीपुर-५ का विभिन्न टोललाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

data-href="