मुस्ताङमा बेजोडको हावाहुरी: जनजीवन प्रभावित


माघ ११, २०८१


मुस्ताङ, ११माघ। हिमाली जिल्ला मुस्ताङमा लगातार २४ घण्टादेखि बेजोडको हावाहुरी चल्दा जनजीवन अस्तव्यस्त बनेको छ। हावाहुरीका कारण जोमसोमस्थित सरकारी कार्यालयदेखि स्थानीय संरचना र सेवामा ठूलो असर परेको छ।

जोमसोमस्थित पर्यटन तथा उद्योग कार्यालयको जस्ताको छानो हावाहुरीले उडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको टोलीले डोरीको सहायताले छानो पुनःस्थापना गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डीएसपी सूर्यबहादुर बोगटीका अनुसार, “सरकारी कार्यालयको छानो उडाए पनि कुनै महत्वपूर्ण अभिलेख वा भौतिक सम्पत्तिमा क्षति पुगेको छैन।”

हावाहुरीले घरपझोङ-३ पुथाङ एयरपोर्टको एक होटल र यात्रु प्रतिक्षालमा पनि आंशिक क्षति पुऱ्याएको छ। यसका साथै, हावाहुरीको असरले विद्युत् र इन्टरनेट सेवा समेत अवरुद्ध भएको डीएसपी बोगटीले जानकारी दिए।

स्थानीयहरू घर बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका छन्। ढुंगा र माटोले बनेका घरहरूको छानो हावाहुरीले उडाउने जोखिम बढेको छ। “हिउँदयाममा हावाहुरीले मानवीय र भौतिक जोखिम बढाएको छ। स्थानीयलाई सतर्क रहन सूचित गरिएको छ,” डीएसपी बोगटीले भने।

यसवर्ष हिमपात नहुँदा कृषि र पर्यटनमा नकारात्मक असर देखिएको छ। स्थानीय किसानहरू अन्नबाली सप्रिने आशा गर्दै हिमपातको प्रतीक्षा गरिरहेका छन्। तर, उत्तरी हावाहुरीले हिमपात हुने प्रक्रिया नै अवरुद्ध गरेको छ।

जिल्ला प्रहरी कार्यालयले स्थानीयलाई विपद् घटना भएमा तुरुन्तै नजिकको प्रहरी इकाइमा जानकारी गराउन आग्रह गरेको छ। हावाहुरीका कारण आगलागीको जोखिमसमेत रहेकाले थप सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तस्बिर सौजन्य: निरज थकाली (ठिनी)

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="