after_navbar

शान्ति समाजले सामाजिक सञ्जाल संचालन विधेयकविरुद्ध अभियान सञ्चालन गर्ने


माघ २३, २०८१


काठमाडौं, २३ माघ – राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। समाजले उक्त विधेयकलाई ‘प्रतिगामी’ भन्दै संविधान प्रदत्त मौलिक हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत हुने चेतावनी दिएको छ।

बुधबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विधेयकका केही प्रावधान दुरुपयोग हुने खतरा रहेकाले सरोकारवालाहरूसँग पर्याप्त परामर्श र सहमति पश्चात् मात्र अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठक समाजकी केन्द्रीय सभापति रेनुका पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

ad

नयाँ पदाधिकारी मनोनयन

शान्ति समाजको केन्द्रीय कार्यसमितिमा ६ जना नयाँ सदस्य मनोनीत भएका छन्। नवमनोनीत सदस्यहरूमा नम्रता खरेल, रुपा पुडासैनी, सीता यरी, रोजिना विष्ट, रत्ना कँडेल र मणिराम दाहाल रहेका छन्।

त्यसैगरी, अनुशासन समितिको संयोजकमा पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावललाई चयन गरिएको छ भने दिलबहादुर कार्की र प्रतिमा महतो सदस्यमा मनोनीत भएका छन्।

सदस्यता अपिल समितिको संयोजकमा पूर्व कोषाध्यक्ष किरण ढकाललाई चयन गरिएको छ। यस समितिमा सदस्यका रूपमा खिम (कृष्ण) भट्टराई र सानु लामालाई मनोनीत गरिएको समाजका महासचिव प्रकाश शाहीले जानकारी दिए।

समाजले आगामी दिनमा विधेयकको सम्भावित असरबारे नागरिक स्तरमा जनचेतना अभिवृद्धि गर्दै सरकारलाई दबाब दिने रणनीति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="