डडेलधुरा,२४ माघ २४ –। नेपालमा लोप भइसकेको आशंका गरिएको दुर्लभ सानो ओत करिब १८५ वर्षपछि पुनः फेला परेको छ। डडेलधुराको रङ्गुनखोला र पुन्तराखोला को सङ्गमस्थलमा स्थानीयले यो प्रजाति फेला पारेका हुन्।
डिभिजन वन कार्यालय, डडेलधुराका वन अधिकृत राजीव चौधरी का अनुसार, स्थानीयले गत मङ्सिर (सन् २०२४ नोभेम्बर) मा सानो ओतको एक छाउरा समातेर ल्याएका थिए। जानकारी पाएपछि वन कार्यालयले त्यसलाई उद्धार गरी पुनः प्राकृतिक वासस्थानमा छोडेको थियो। सन् १८३९ पछि नेपालमा सानो ओत देखिएको पहिलो पटक हो, जसले यो प्रजाति नेपालमा अझै जीवित रहेको पुष्टि गर्दछ।
अनुसन्धानका लागि ओतको तस्बिर खिचेर विभिन्न विशेषज्ञलाई पठाइएपछि मोहनविक्रम श्रेष्ठ, गङ्गा श्रेष्ठ, हिरूलाल डङ्गौरा, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सेभेज, र जुओफु सियाङको टोलीले यो सानो ओत नै भएको वैज्ञानिक रूपमा पुष्टि गरेको हो।
वन अधिकृत चौधरीका अनुसार, रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओतको बथान नै रहेको स्थानीयको भनाइ छ। “त्यस क्षेत्रमा स्थानीयले लामो समयदेखि सानो ओत देख्दै आएका छन्,” चौधरीले भने। बथानमा अन्य वयस्क ओत पनि रहेको हुनसक्ने विज्ञहरूले बताएका छन्।
अनुसन्धानकर्मी हिरूलाल डङ्गौरा का अनुसार, डडेलधुराको ढुङ्गे बगर, शान्त वातावरण, स्वच्छ पानी, र घना वनस्पति भएको क्षेत्र सानो ओतको वासस्थानका लागि उपयुक्त देखिन्छ।
सानो ओतको पुनः अस्तित्व भेटिएपछि यसको संरक्षणका लागि थप अनुसन्धान, निगरानी, र उचित योजना आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन्। वन्यजन्तु तथा जैविक विविधताको सन्तुलन कायम राख्न यस प्रजातिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस