रुकुम,२७ माघ। ठगीको शिकार बनेपछि मानसिक तनावमा परेकी रुकुमकी २५ वर्षीया जमुना रसाइलीले आत्महत्या गरेकी छन्। सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले चिठ्ठा परेको भन्दै झन्डै तीन लाख रुपैयाँ ठगी गरेपछि उनले तनावमा आएकी थिइन्।
रुकुममा तीन वर्षीय छोरा, सासू-ससुरा र देवरसँग बस्दै आएकी जमुनाका श्रीमान भारतमा रोजगारी गर्दै आएका थिए। सामाजिक सञ्जाल चलाउने जमुनालाई केही दिनअघि ह्वाट्सएपमा एक अपरिचित व्यक्तिले ठूलो धनराशिको चिठ्ठा परेको सन्देश पठाएका थिए। चिठ्ठाको रकम लिनका लागि तीन लाख रुपैयाँ पठाउनुपर्ने भन्दै ती व्यक्तिले बारम्बार आग्रह गरेपछि जमुनाले विश्वास गरिन्।
रकम जुटाउन उनले स्थानीय व्यक्तिहरूसँग ऋण लिइन्। जब ऋणले नपुग्दा आफ्ना सुनका गहना बेचेर पैसा जोहो गरिन् र ठगलाई पठाइन्। तर, पैसा पठाएपछि ती व्यक्तिले सम्पर्क विच्छेद गरे। त्यसपछि मात्र जमुनालाई आफू ठगिएको थाहा भयो।
ठगिएको महसुस गरेपछि निराश बनेकी जमुनाले श्रीमानलाई फोन गरी आत्महत्या गर्ने बताएकी थिइन्। श्रीमानले ‘जे भयो, भयो ,म तिर्छु भनी’ उनलाई सम्झाउने प्रयास गरे। तर, छोरालाई राम्रोसँग पाल्न आग्रह गर्दै उनले अन्ततः आत्महत्या गरिन् ।
घटनाको जानकारी पाएपछि परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए। जमुनाको शव बिहान घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा स्थानीयबासी र प्रहरीको उपस्थिति थियो। शव झुन्डिएको हाँगा भाँचिएको थियो, उनको मोबाइल र चप्पल भुइँमा खसेका थिए।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइसकेको छ। “यो साइबर ठगीको घटना हो। पीडित महिलाले ठूलो धनराशि गुमाएपछि मानसिक तनावमा आत्महत्या गरेकी हुन्,” प्रहरी अधिकृतले बताए।
यस घटनाले अनलाइन ठगीबारे गम्भीर चिन्ता उत्पन्न गराएको छ। प्रहरी प्रशासनले नागरिकलाई यस्ता ठगीबाट सचेत रहन आग्रह गर्दै अनलाइनमा आएको कुनै पनि अफर पत्याउनुअघि पर्याप्त अनुसन्धान गर्न अनुरोध गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस