after_navbar

त्रिभुवन क्याम्पसमा राष्ट्रिय झण्डा हस्तान्तरण


फागुन ०६, २०८१


तानसेन,६ फागुन । राष्ट्रप्रेमलाई व्यवहारमा उतार्ने उदेश्य सहित त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ। ‘एक घर, एक लालीगुराँस’ अभियानका अभियन्ता सुशिल बस्यालले क्याम्पसलाई राष्ट्रिय झण्डा प्रदान गर्दै देशप्रेमको भावना जागृत गर्ने प्रयास गरेका छन्।

झण्डा हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख टंक पन्थ, सहायक क्याम्पस प्रमुख सन्तोष ज्ञवाली, विज्ञान संकाय सहायक प्रमुख चन्द्रबहादुर थापा, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिनेश गन्धर्व, स्ववियु सभापति कृष्ण अर्याल लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

क्याम्पस प्रमुख पन्थले यस कार्यलाई उदाहरणीय भन्दै, “विद्यार्थीहरूले राष्ट्रप्रेमी अभियानलाई आत्मसात गर्नु आवश्यक छ। राष्ट्रिय झण्डा हाम्रो गौरव र पहिचानको प्रतीक हो,” भने। उनले बस्यालको प्रयासले अन्य शैक्षिक संस्थालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।

बस्यालले भने, राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा होइन, यो हाम्रो अस्तित्व र गौरवको चिन्ह हो। यसको अद्वितीय आकार र डिजाइनले नेपालको पहिचान झल्काउँछ।” उनले प्रत्येक शैक्षिक संस्थामा राष्ट्रिय झण्डा राखिनु आवश्यक रहेको भन्दै यसले विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना विकास गर्ने बताए।

तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिनेश गन्धर्वले बस्यालको अभियानको प्रशंसा गर्दै युवा पुस्तालाई राष्ट्रप्रेम र जिम्मेवारीबारे सचेत गराउने अभियान आवश्यक रहेको बताए।

स्थानीयहरुले क्याम्पसमा फहराइएको राष्ट्रिय झण्डाले राष्ट्रिय भावना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्। बस्यालले आगामी दिनमा अन्य विद्यालय तथा कलेजहरूमा पनि राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने योजना बनाएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="