घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस घोराहीमा मनाइएको छ। कार्यक्रममा प्रजातन्त्रको स्थापना, त्यसले हासिल गरेका उपलब्धिहरू तथा प्रजातान्त्रिक संस्कृतिको संवर्द्धनबारे छलफल गरिएको थियो।
कार्यक्रम क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि खनालले प्रजातन्त्र दिवस नेपाली जनताले मौलिक अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै भने, “नेपाली जनतालाई रैतिबाट नागरिक बनाएको दिन नै प्रजातन्त्र दिवस हो।” साथै, पछिल्लो समय प्रजातन्त्र र पुराना दलहरूविरुद्ध नकारात्मक प्रचार गरिएको भन्दै उनले त्यसप्रति सजग रहनुपर्ने आवश्यकता औंल्याए।
उनले नेपाली कांग्रेसको नेतृत्वमा देशमा प्रजातन्त्र स्थापना भएको र हरेक परिवर्तनमा कांग्रेसले अग्रसरता लिएको स्मरण गराउँदै ती परिवर्तनहरूलाई संस्थागत गर्न कांग्रेसका सबै तहले जुट्नुपर्नेमा जोड दिए।
अन्य वक्ताहरूले पनि प्रजातन्त्रको मर्म जनसामान्यलाई बुझाउन आवश्यक रहेको बताए। उनीहरूले दशकौं बितिसक्दा पनि जनताले प्रजातन्त्रको पूर्ण प्रत्याभूति महसुस गर्न नसकेको उल्लेख गर्दै प्रजातान्त्रिक मूल्य, राष्ट्रियता, र समाजवादलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद लोका बिक, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, सचिव अर्जुन योगी, बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सल्लाहकार डा. बिनबहादुर सिंह वली, खड्ग बुढाथोकी, पूर्व क्षेत्रीय सभापति गोविन्द मज्गैयलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव आर.के. शीतलले गरेका थिए।
प्रतिक्रिया दिनुहोस