प्यूठान,११ फागुन । प्यूठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा शनिबार हत्या गरिएको अवस्थामा भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको हत्या अभियोगमा भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपाली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी दिपेश बस्यालका अनुसार घटनाको सूचना दिने व्यक्ति नै हत्यारा रहेको खुलेको छ। शनिबार मध्यान्ह पंकजले प्रहरीलाई हत्या भएको सूचना दिएका थिए। तर, अनुसन्धानको क्रममा उनै दोषी रहेको पुष्टि भएको छ।
डिएसपी बस्यालका अनुसार घटनापछि प्रहरीले पंकजसहित पाँच/छ जनालाई निगरानीमा राखेको थियो। अनुसन्धानका क्रममा उनले दिएको बाझिएको बयानकै आधारमा शंका उब्जिएको र आइतबार मध्यान्ह १२ बजेपछि पंकजमाथि मात्र केन्द्रित भएर अनुसन्धान गरिँदा उनले हत्या स्वीकार गरेको बताइएको छ।
भित्री रिसले बनायो अपराधी :
प्रहरीका अनुसार पंकजका काका-काकीले गाली गर्ने, घर नआउन भन्ने, विवाह गर्न नसकेको जस्ता कारणले रुष्ट थिए। त्यही रिसको कारण शुक्रबार राति अत्यधिक मदिरा सेवन गरी हत्या योजनाका साथ उनी काकाको घर पुगेका थिए।
पक्राउ परेका पंकजले प्रहरीसमक्ष दिएको बयानअनुसार उनले राति १०:३० बजेतिर घरको दोस्रो तलाको झ्यालबाट प्रवेश गरेका थिए। त्यसपछि भुइँ तलामा ओर्लिएर पालैपालो दुवै जनालाई घनले हिर्काएर हत्या गरेका थिए। घटनापछि काकी हुकुमाको पटुका भित्र रहेको २२० रुपैयाँ समेत लिएर गएका थिए। प्रहरीले हत्या गर्न प्रयोग गरिएको घन घटनास्थलभन्दा ५० मिटर दक्षिण फेला पारेको छ।
डिएसपी बस्यालका अनुसार मृतक रामबहादुर मिस्त्रीको काम गर्थे, जसकारण उनको घरमा घन उपलब्ध थियो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घटनालगत्तै पंकज कतै फरार भएका थिएनन्, तर उनले बाझिएको बयान दिएकाले प्रहरीको अनुसन्धान उनैमाथि केन्द्रित भएको थियो।
प्रतिक्रिया दिनुहोस