दाङ, १५ साउन। दाङको तुलसीपुरस्थित मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहिवार बिहान ११ बजेतिर तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा परेर मृत्यु हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका–१७ निवासी अन्दाजी १५ वर्षीय सबिन भण्डारी र सोही ठाउका अन्दाजी १७ वर्षीय मनोज रोका मगर रहेका छन्। उनीहरूको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।
उक्त ट्याक्टरमा सवार अन्य व्यक्तिहरू प्रहरीको नियन्त्रणमा रहेका छन्। ट्याक्टर चालक मानपुरका २६ वर्षीय सुरेश चौधरी, ऐरावतीका १५ वर्षीय धनबहादुर चौधरी र विजौरीका २६ वर्षीय प्रकाश चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो।
घटनास्थलमा प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस