दाङ,१३ जेठ । बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षमता विकास तालिम सुरु भएको छ। बालबालिका तथा अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले डल, खेलौना र कुसन निर्माण सम्बन्धी १५ दिने तालिम सुरु भएको हो। तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा तथा अपाङ्ग सेवा संघ तुलसीपुर दाङको आयोजनामा तालिम सुरु गरिएको हो।
अपाङ्गता सेवा सङ्घका अध्यक्ष देवा डाँगीको अध्यक्षता तथा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरिराज पाण्डेको प्रमुख आतिथ्यतामा तालीमको उद्घाटन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले अपाङ्गता हुनु कुनै व्यक्तिको दोष नभएको भन्दै सिप सिकेर आत्मनिर्भर बन्न सकिनेमा जोड दिए। उनले तालिमलाई निरन्तरता दिँदै सिकेको सीप व्यवहारमा उतार्न सहभागीहरूलाई प्रेरणा दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि वडा नं. ५ का कार्यबाहक वडाध्यक्ष भीमबहादुर के.सी.ले अपाङ्गता भएका व्यक्तिको उद्यम स्थापना र आर्थिक सशक्तीकरणका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजयकुमार शर्माले तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणमा निरन्तरता आवश्यक रहेको बताए ।
कार्यक्रममा राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्मा, प्रशिक्षक रेणु जिएम, तिलसरा पुनलगायतले मन्तव्य व्यक्त गरेका थिए।
७० जना अपाङ्गता भएका व्यक्ति र अभिभावक सहभागी रहेको तालिममा प्रशिक्षक रेणु जिएम र तिलसरा पुन छन् भने दोभाषेको भूमिका स्मृति योगीले निर्वाह गरेकी हुन्।
तेजकुमारी भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्ती ओलीले गरेकी थिइन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस